

देशलाई अघि बढाउन एमाले सबल राष्ट्रिय शक्ति बनाउनु पर्छ : ओली

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अघि बढाउन एमाले सबल राष्ट्रिय शक्ति बनाउनु पर्ने बताएका छन् ।
आज (आइतबार) काठमाडौंमा पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले जनतालाई सचेत बनाउँदै एमालेको सम्पूर्ण शक्ति सबल राष्ट्रिय शक्ति बनाउन केन्द्रित भइरहेको बताए ।
‘देशलाई अस्थिरता, अन्यौल र दिशाहिनताबाट जोगाएर सही बाटोमा लैजान अबको समय खेर जान नदिएर हामी एउटा सबल राष्ट्रिय शक्तिका रुपमा अघि बढ्नु पर्छ’, अध्यक्ष ओलीले भने । उनले एमालेको सम्पूर्ण शक्ति सुदृढ र सबल राष्ट्रिय शक्ति निर्माणमा खर्चिनुपर्ने बताएका छन् ।
उनले एमालेले चलाएको मिसन ग्रासरुट अभियान पार्टी जनतासम्म पुग्नका लागि भएको भन्दै जनता र कार्यकर्तामा सही विचार पुर्याउन जरुरी भएको बताए । ओलीले अन्तरघाती चरित्र एमाले चरित्र हुन नसक्ने भन्दै प्रचण्डपथको काम जातिजातिमा भिडाउने भएको तर एमालेले सबै जातिलाई एकताबद्ध बनाउने काम गरिरहेको दावी गरे ।
‘यो प्रचण्ड पथको काम जाति जातिका बीचमा भिडन्त बढाउने हामी जातिजातिलाई उत्थान गराउने र एकताबद्ध गराउने, राष्ट्रिय शक्ति निर्माण गर्ने, हाम्रा संगठनको उद्देश्य झैझगडा होइन, समस्या समाधान गराउने हो’, ओलीले भने ।

