

रविले उपनिर्वाचनका लागि उम्मेदवारी दिनै नपाउने !

काठमाडौं – नेपालको संविधान २०७२ अनुसार आगामी वैशाख १० गतेको उपनिर्वाचनका लागि रवि लामिछानेले उम्मेदवारी दिन नपाउने देखिएको छ ।
नेपालको संविधानको धारा २९१ अनुसार ‘विदेशको स्थायी आवासीय अनुमति पत्र लिएको नेपालको नागकिर यस संविधान बमोमिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिको लागि योग्य हुने छैन । तर, त्यस्तो विदेशको स्थायी आवासीय अनुमतिपत्र त्यागेको व्यक्तिलाई कम्तीमा ३ महिनाको अवधि व्यतित भएपछि त्यस्तो पदमा निर्वाचित, मनोनित वा नियुक्त गर्न बाधा पर्ने छैन,’ भनिएको छ ।
यसअनुसार रविले नागरिकता पुनः पाएको मितिले ३ महिना अगाडि निर्वाचनका लागि मनोनयन दिन नपाउने संविधानले व्यवस्था गरेको छ । जसबाट लामिछानेले अहिलेको उपनिर्वाचनमा उम्मेदवारी दिन नपाउने देखिन्छ ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि भोली (सोमबार) उम्मेदवार मनोनयनको कार्यतालिका प्रकाशित गरेका छ । सोहीअनुरुप भोलिसम्म रविले नागरिक पुनः प्राप्ती गरेको ६५ दिन मात्रै हुने भएकाले उनका लागि उम्मेदवारी दिनका लागि थप २५ दिनको समयाअवधि अपुग भएको देखिन्छ । लामिछानेले गत माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका थिए । जसबाट हेर्दा मतदानको दिन पनि तीन महिना नपुग्ने देखिन्छ ।
चितवन क्षेत्र नं. २ बाट उम्मेदवारी दिने तयारी गरेको लामिछाने यसअघि मंसिर ४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएर नागरिकता विवादपछि सर्वोच्चको आदेशसँगै पदमुक्त भएका थिए ।
संविधानको यस प्रावधानका कारण रविले उम्मेदवारी दिए पनि निर्वाचन आयोगमा उजुरी पर्ने सम्भावना प्रबल देखिन्छ । उजुरी परेको खण्डमा आयोगले अन्तिम किनारा लगाउनेछ ।

