३ देशका राजदूतलाई देश निकाला गर्ने रुसको निर्णय, किन हुँदैछ यस्ताे सजाय ?


काठमाडौं – रुसले विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थन आन्दोलनमा सहभागी भएको आरोपमा स्वीडेन, जर्मनी र पोल्याण्डका राजदूतलाई देश निकाला गर्ने बताएको छ । गत महिना नाभाल्नीको समर्थनमा भएको आन्दोलनमा उनीहरु सहभागी भएको रुसले बताएको छ ।

रुसले उक्त आन्दोलनलाई अवैध आन्दोलन भएको बताउँदै आएको छ । रुसको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै राजदूतहरुको गतिविधि स्वीकार्य नरहेको बताएको छ । साथै रुसले अन्य मुलुकका कूटनीतिक अधिकारीले अन्तर्राष्ट्रिय कानुन कडाइका साथ पालना गरुन् भन्ने अपेक्षा रहेको बताएको छ ।

पछिल्लो समय पश्चिमा मुलुकहरुसँग रुसको तनाव बढिरहेको अवस्थामा रुसले केही राजदूतहरुलाई देशनिकाला गर्ने निर्णय गरेको हो । युरोपेली संघ (ईयू)ले भने रुसको यो कदमको विरोध गरेको छ । रुसका विपक्षी नेता नाभाल्नीलाई केही समयअघि अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको थियो ।

उनीमाथि यसअघिको मुद्दाको शर्त उल्लंघन गरेको आरोपमा उक्त सजाय सुनाइएको हो । गत वर्ष नाभाल्नीलाई विष दिइएको थियो । त्यसपछि उपचारका लागि जर्मनी गएका उनी रुस फर्किनेबित्तिकै एयरपोर्टबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया