रविप्रति लक्षित गर्दै जितनारायण भन्छन्, ‘चितवनमा मंसिरको हावाहुरीले अहिले काम गर्दैन’


काठमाडौं — वैशाख १० मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएका जित नारायण श्रेष्ठले मंसिरको हावाहुरीले अहिले काम नगर्ने बताए ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबाट चितवन क्षेत्र नं. २को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध टिकट पाएका श्रेष्ठले पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मंसिरमा आएको हावाहुरीले अहिले काम नगर्ने बताउँदै पहिचान खोज्नुपर्ने अवस्था भएका व्यक्तिलाई सधैं चितवनका सचेत जनताले साथ नदिने बताएका छन् ।

उनले रवि लामिछानेलाई लक्षित गर्दै भने, ‘मंसिरमा भएको निर्वाचन चितवनमा हावाहुरी आएको थियो। जे हावाहुरी आएको थियो त्यो मान्छे अहिले जनताको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने परिस्थिति बनेको छ। अहिले कहिले कसलाई समर्थन गरेको छ। कहिले कसलाई भोट हालेको छ। भोट हालेको कारण पनि खुलाउनु पर्दैन। किन सरकारलाई समर्थन गरेको र विश्वासको मत दिएको जनतालाई भन्नु पनि नपर्ने। पार्टीबाट निर्णय गर्नु पनि नपर्ने। चितवनको नागरिक सचेत छन्।’

उनले मंसिरदेखि अहिलेसम्मको जनताले गतिविधि नियालिसकेकाले त्यो गल्ती चितवनवासीले नगर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘अहिले हामी मंसिरको परिणाम उल्टाउँछौँ।’

प्रतिक्रिया