

आज मन्त्रिपरिषद् विस्तार, कुन पार्टीबाट को बन्दैछन् मन्त्री ?

काठमाडौं — सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले आज मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएकाले आज मन्त्रिपरिषद् विस्तार हुने उनीहरूको दाबी छ ।
नयाँ मन्त्रीहरूको शपथ पनि आजै गराउने तयारी रहेको जनाइए पनि अझै मन्त्रालय बाँडफाँडमा कुरा मिलिसकेको छैन ।
हिजो साँझ बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसलाई आठ, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई दुई/दुई मन्त्रालय दिने सहमति भएको छ ।
लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहको आम जनता पार्टीले एक/एकवटा मन्त्रलय लिने सहमति भएको बताइएको छ । एक मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले थप एक राज्यमन्त्री पाउने भएको छ ।
मन्त्रालयको बाँडफाँट भने मिलिसकेको छैन । बाँडफाँटको अधिकार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई दिन माग गरेका छन् ।
माओवादी केन्द्रले गृहमन्त्रालय नारायणकाजीलाई दिने तयारी गरिरहेको बेला कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उपप्रधानसहित रक्षा मन्त्री लिने जनाइएको छ । कांग्रेसबाट अर्थमन्त्रालयमा डा. प्रकाशशरण महतलाई पठाइने भएको छ । कांग्रेसले पाउने ८ मन्त्राललयमध्ये अन्यमा सीता गुरुङ, मोहनबहादुर बस्नेत, बद्री पाण्डे, दिपक खड्का, प्रदीप पौडेल र एनपी साउदको सम्भावना बलियो देखिएको छ ।
माओवादी केन्द्रबाट अहिले नै कायम रहेका मन्त्रीहरू मध्ये श्रेष्ठ र संघीय तथा सामान्य शासन मन्त्री अमनलान मोदीले मन्त्रालय हेरफेर गर्ने जनाइएको छ भने अन्य मन्त्री यथावत रहने जनाइएको छ ।
त्यस्तै एकीकृत समाजवादीले भौतिक मन्त्रालयले पाउने जनाइए पनि तीन वटा मन्त्रालयमा दाबी नछाडेको एकीकृतले मन्त्रीको नाम भने तोकिसकेको छ । एसले बेदुराम भुषाल र प्रकाश ज्वालालाई सरकारमा पठाउने पार्टीले निर्णय गरिसकेको छ ।
त्यस्तै जसपाबाट अशोक राईले पार्टीको नेतृत्व गर्दै सरकारमा जाने भएका छन् ।
त्यस्तै प्रभु शाह स्वयं मन्त्री बन्दैछन् ।
आज प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गरेसँगै सपथग्रहण गर्ने जनाइएको छ ।

