सभामुख सापकोटाद्वारा दायर संवैधानिक नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै


काठमाडौँ – संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै छ।

सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेको रिटमाथि आज न्यायाधीश प्रकाशकुमार ढुंगानाको बेञ्चमा सुनुवाइ हुने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागी समेतलाई विपक्षी बनाइएको छ। रिटमा संवैधानिक अंगका नवनियुक्त पाँच जना प्रमुख सहित ३२ जना सबैलाई विपक्षी बनाइएको हो।

यसअघि २०७२ साल कात्तिक १८ मा न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठ र २०७२ फागुन २३ गते निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवको नियुक्ति सिफारिस संसदीय सुनुवाइ नहुँदा संसदले परिषदमै फिर्ता पठाइदिएको थियो। यही नजिर देखाउँदै सभामुख सापकोटाले नियुक्ति बदरको माग गरेका छन्।

सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐन आफू अनुकूल बनाएर मंसिर ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित महत्वपूर्ण संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेको थियो। यसै बीच सभामुख अग्निप्रसाद सापकोटाले श्रृङ्खलाबद्ध रुपमा संविधानको उल्लंघन भएकोले संविधानको रक्षार्थ सर्वोच्च अदालत गएको बताएका छन्।

प्रतिक्रिया