ट्वीटरको मूल्य २० अर्ब अमेरिकी डलर


अमेरिका – एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताएका छन्। यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधाभन्दा पनि कम हो।

कर्मचारीहरूलाई पठाइएको इमेलमा सान फ्रान्सिस्कोस्थित कम्पनीमा नयाँ स्टक क्षतिपूर्ति कार्यक्रम र ट्विटरको छाता कम्पनी ‘एक्स होल्डिङ्स’का कर्मचारीहरूलाई शेयर बाँडफाँड गरिएको उल्लेख गरिएको छ।

क्षतिपूर्ति योजनाले ट्वीटरको मूल्य २० अर्ब डलर तोकेको छ। यो मूल्य ‘स्न्यापच्याट’को मूल कम्पनी ‘स्न्याप’ (१८.२ बिलियन डलर) वा ‘पिन्टेरेस्ट’ (१८.७ बिलियन डलर) भन्दा केहीमात्र बढी हो।

तेस्ला इङ्क र एयरोस्पेस ग्रुप स्पेसएक्सका प्रमुख कार्यकारीसमेत रहेका मस्कले ट्वीटरले आफ्ना कर्मचारीलाई हरेक छ महिनामा सेयर नगद गर्न अनुमति दिने बताए। आन्तरिक इमेलमा मस्कले ट्विटरको मूल्यमा भएको क्रुर सङ्कुचनको वर्णन गर्दै उनले बताएका छन्। ‘ट्वीटरले यस्तो गम्भीर वित्तीय कठिनाइहरूको सामना गर्नुपर्‍यो कि एक बिन्दुमा यो चरम आर्थिक संकटको संघारमा पुगेको थियो,’ उनले भनेका छन्।

यसअघि, मस्कले ट्वीटरमा शनिबार पोस्ट गरेको एक सन्देशमा ट्वीटरले प्रति वर्ष तीन अर्ब अमेरिकी डलर गुमाउने अनुमान गरेका थिए।

प्रतिक्रिया