प्रदेश १ सभाको बैठक आज बस्दै, मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुनुपर्ने पक्षमा दाहाल-नेपाल समूह


विराटनगर – प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । नेकपा विभाजनपछिको विवादका कारण गत माघ ७ गते पहिलो बैठक ३ मिनेटमात्रै बसेर स्थगित भएको थियो । प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अविस्वासको प्रस्ताव टेबल गर्ने पक्षमा नेकपा दाहाल-नेपाल समुह लगेका छन् भने, बैठक अघि आइतबार बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए सत्ता पक्षले बैठक अवरुद्ध गर्नेछ ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने दाहाल-नेपाल समूहका १६ जना सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ । भीम आचार्य, इन्द्र आङ्बो, जीवन घिमिरेसहित निलम्बनमा परेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा प्रवेश गर्न नदिने अडानमा ओली समूह छ । बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुन नदिने ओली समूहको तयारी छ ।

नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कारवाहीमा परेका १६ सांसदलाई बैठक कक्षमा प्रवेश गर्न दिन नमिल्ने बताए । ‘विहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ,’ उनले भने, ‘बैठकबाट केही विकल्प निस्कियो भने छलफल अघि बढ्छ । तर १६ जनालाई प्रवेश गरे बैठकमा हामी नियमापत्ति गर्छौं ।’ उनले कारवाहीमा परेकाहरुलाई संसदीय गतिविधिमा समावेश नगर्न नमिल्ने तर्क गरे ।

दाहाल-नेपाल समूहले पनि मुख्यमन्त्री शेरधन राईसहित ओली समूहका ८ जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर प्रदेशसभा बैठकमा प्रचण्ड(माधव समूहले निलम्बनको विषय उठाएको छैन ।

दाहाल-नेपाल समूहका नेता आङ्बो आइतबारको बैठकमा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबल हुनुपर्ने बताउँछन् । हिउँदे अधिवेशनका लागि प्रदेश सरकारले अरु बिजनेश दिएको छैन । त्यसैले संसद्को एकमात्र विजनेशको रुपमा रहेको अविश्वासको प्रस्तावमाथि छलफल गरिनुपर्ने आङ्बोले बताए । ‘बैठकमा अविश्वासको प्रस्ताव टेबल गरिनुपर्छ । सरकारले संसदमा प्रस्तावको सामना गर्छ भन्ने विश्वास छ,’ उनले भने, ‘सरकारले परिपक्वता देखाओस् ।’

मुख्यमन्त्री राईविरुद्ध गत पुस १२ गत प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा ३७ सांसदको हस्ताक्षर सहित आइतबार बिहान १० बजेर ४० मिनेटमा प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

प्रतिक्रिया