महानगरले १० वर्षका लागि लिजमा लियो काठमाडौं प्लाजा


काठमाडाैं – नेपाल ट्रस्टको स्वामित्वमा रहेको कमलादीस्थित काठमाडौं प्लाजा भवन काठमाडौं महानगरपालिकाले १० वर्षका लागि लिज (भाडा)मा लिएको छ ।

ट्रस्ट र महानगरपालिकाबीच यससम्बन्धी सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको हो । ट्रस्टका सहसचिव विष्णुराज ढकाल र महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

मासिक ६० लाख ५० हजार भाडा दिने गरी सम्झौता भएको नेपाल ट्रस्टको कार्यालयका कार्यकारी सचिव सरजुकुमार वैद्यले बताए । सम्झौता ९ चैतदेखि लागू हुनेछ । पाँच वर्षपछि भाडा १० प्रतिशत वृद्धि हुने सम्झौतापत्रमा उल्लेख छ ।

आफ्ना कार्यालय विभिन्न ठाउँमा हुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै महानगरले एकीकृत सेवाका लागि प्लाजा भाडामा लिएको हो । महानगरले उक्त भवन सबलिजमा भने दिन पाउनेछैन । प्रशासनिक कार्यका लागि मात्र भवन लिजमा दिने निर्णय भएको सचिव वैद्यले बताए । दुई साताअघि बसेको ट्रस्टको सञ्चालक समितिको बैठकले यससम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो ।

काठमाडौं महानगरपालिकालाई उक्त भवन दिने गरी असार ०७७ सालको जेठमा नै सहमति भई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । यसविरुद्ध व्यवसायीहरूले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि पक्रिया रोकिएको थियो । गत २६ माघमा सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरलाल श्रेष्ठ र कुमार रेग्मीको इजलासले यससम्बन्धी दुई रिट खारेज गरिदिएपछि लिजमा लिने सम्झौता भएको हो ।

 

प्रतिक्रिया