

अख्तियारको छानबिनमै रहेका बेला एआईजी ज्ञवालीलाई दर्ज्यानी चिन्ह
छानबिन गरी एक महिनाभित्र जानकारी पठाउन अख्तियारको निर्देशन (पत्रसहित)

काठमाडौं — मन्त्रीपरिषद्को निर्णयपछि बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई छानबिनका लागि अख्तियारले निर्देशन दिएकै बखत उनले दर्ज्यानी चिन्ह लगाएका छन् । उनलाई आज (बुधवार) प्रहरी महानिरीक्षक (आईजी) धिरजप्रताप सिंहले अन्य चार एआईजीसँगै दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
जन्ममितिबारे देखिएको विवादपछि अख्तियारमा उजुरी परेपछि छानबिनका लागि गृहमन्त्रालयलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन ताकेता गर्दै पत्राचार गरे पनि त्यसको बेवास्ता गर्दै प्रहरी प्रधान कार्यालयले दर्ज्यानी चिन्ह प्रदान गरेको हो ।
आईजीपीका प्रत्यासी भनिएका ज्ञवालीविरुद्ध डीआईजी हुँदै अख्तियारमा उजुरी परेको हो । उनको भर्ना प्रक्रियामै त्रुटि रहेका कारण रद्दको मागसहित उजुरी परेको थियो । भर्ना मितिमा २५ वर्ष ननाघेको हुनुपर्नेमा ज्ञवालीले उमेर ढाँटेर भर्ना भएको उजुरीमा उल्लेख छ । अख्तियारले गृह मन्त्रालयलाई पठाएको पत्रमा पनि उनको उमेरमा अन्तर देखिएको उल्लेख छ ।
अख्तियारले नागरिकताअनुसार उनको उमेर प्रहरी निरीक्षकमा भर्ना हुने बेलासम्म २५ वर्ष नाघिसकेको देखिएको बताएको छ । जबकि, प्रहरीमा भर्ना हुन २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।
प्रहरीमा भर्ना भएको समयमा उनको उमेर २५ वर्ष ९ दिन हुन आउने देखिएको जनाउँदै यस सम्बन्धमा के कसो भएको हो, छानबिन गरी एक महिनाभित्र मन्त्रालयको स्पष्ट रायसहितको छानबिन प्रतिवेदन र सोलाई पुष्टि गर्ने सम्बद्ध कागजातहरू आयोगमा पेस गर्न भनेको छ ।
अख्तियारले गृहलाई पठाएको पत्रमा भनिएको छ, ‘निज श्यामलाल ज्ञवालीको उमेर निजको नेपाली नागरिकताको प्रमाणपत्रबमोजिम उक्त छनोट हुने साल (वि.सं. २०५०) को वैशाख १ गते २५ बर्ष ९ दिन हुन आउने देखिन्छ । अतः यस सम्बन्धमा के कसो भएको हो ? सो सम्बन्धमा तहाँ मन्त्रालयबाट यथाशीघ्र छानबिन गरी प्रस्तुत पत्र प्राप्त भएको मितिले १ (एकं) महिनाभित्र तहाँ मन्त्रालयको स्पष्ट रायसहितको छानबिन प्रतिवेदन र सोलाई पुष्टि गर्ने सम्बद्ध कागजातहरू आयोगको महाशाखा नं। ३ मा उपलब्ध गराई छानबिन कार्यमा सहयोग गरिदिनुहुन निर्णयानुसार अनुरोध छ ।’
जिल्ला प्रशासन कार्यालय प्यूठानले २ चैत २०४१ मा जारी गरेको नागरिकता प्रमाणपत्रमा उनी त्यतिबेला १७ वर्ष भएको उल्लेख छ । तत्कालीन प्रजिअ शम्भुप्रसाद खनालले जारी गरेको नागरिकता अनुसार उनको जन्ममिति २०२४ साल हुन आउँछ । नागरितामा जन्म महिना र गते खुलाइएको छैन । प्रहरीका अनुसार नागरिकताकै विवरण मानिने भएकाले उनको जन्ममिति २ चैत २०२४ हुन्छ ।
तर, ज्ञवालीले आफ्नो शैक्षिक प्रमाणपत्र र सिटरोलमा भने जन्ममिति २६ भदौ २०२५ उल्लेख गरेका छन् । नागरिकतामा उल्लेखित जन्ममितिभन्दा यो ५ महिना २४ दिनको फरक पर्छ । ज्ञवाली प्रहरीले जारी गरेको ९ मंसिर २०५० को सूचनाअनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका हुन् । इन्स्पेक्टरमा भर्नाका लागि उक्त सूचना जारी भएको मितिमा भर्ना वर्षको वैशाख १ गते २० वर्ष पुगेको र २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । तर, नागरिकताको जन्ममिति अनुसार उनी त्यतिबेला २५ वर्ष नाघिसकेको देखिन्छन् ।
उजुरीमा ज्ञवालीले काठमाडौंबाट लिएको प्रतिलिपि नागरिकता र प्रहरीको कर्मचारी प्रशासन शाखामा उनको अभिलेख हेरफेर नभएकोबारेमा अनुसन्धान गर्न र दोषी देखी कारबाही गर्न पनि माग गरिएको छ ।

