

उपराष्ट्रपति यादवद्वारा पदबहाली

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले लैनचौरस्थित कार्यालयमा पदबहाली गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गरेका हुन् । उपराष्ट्रपतिले पदबहाली गरेर औपचारिकरुपमा जिम्मेवारी सम्हाल्नुभएको उपराष्ट्रपति कार्यालयका सूचना अधिकारी (उपसचिव) प्रविण पौडेलले जानकारी दिए ।
उनका अनुसार पदबहालीपछि उपराष्ट्रपतिलाई कार्यालयकोतर्फबाट सचिव टेकनारायण पाण्डेले ‘ब्रिफिङ’ गर्नुभएको थियो । उपराष्ट्रपति यादवले पदबहालीपछि कार्यालय परिसरमा वृक्षरोपणसमेत गर्नुभएको थियो । यादव यही चैत ३ मा मुलुकको तेस्रो उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
को हुन् उपराष्ट्रपति यादव
स्वच्छ तथा इमान्दार राजनीतिज्ञको छवि बनाएका उपराष्ट्रपति यादव यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्रीसमेत थिए । यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवादेवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो ।

