उपराष्ट्रपतिका लागि मतदान सम्पन्न, केही बेरमा मतगणना सुरु


काठमाडौं — नयाँ उपराष्ट्रपतिको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।

बिहान १० बजेदेखि ३ बजे सम्मको मतदानको समय तोकिएकोमा मतदानको समयपछि अब केही बेरमा मतगणना सुरु हुने जनाइएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।

मतगणनापछि लगत्तै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका २१ जना अनुपस्थित भएका थिए ।

उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएको जनाए पनि मतपत्रमा उनको पनि नाम रहेको थियो । उनले जसपाका रामसहायप्रसादलाई समर्थन गरेको बताएकी थिइन् ।

प्रतिक्रिया