

ओलीले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम गरे : प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम प्रधानमन्त्री केपी ओलीले गरेको बताएका छन् ।
काठमाडौंमा आज (शुक्रबार) बिहान पत्रकासंगको छलफलमा अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम केपी ओली मार्फत सबै देश भित्र र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरूले गरेको बताएका हुन् ।
यद्यपी गल्ती कमजोरीलाई सच्याउदै नेकपा पार्टीलाई बहुमतको दिशामा ल्याउन सकिन्छ भन्ने विश्वासका साथ अघि बढेको उनले स्पष्ट पारे । विस्तारै कार्यकर्ताहरूले सही गलत छुट्याउन थालेकाले निरास हुने अवस्था नरहेको पनि उनले स्पष्ट पारे ।
उनले भने ‘मुलुकमा ठूलो खतरा पैदा भएको छ । कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम केपी ओली मार्फत सबै देशभित्र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरूले गरे । केपी जीले आत्मसमर्पण गरेकै हो ।’
उनले लोकतन्त्रको रक्षा हुन्छ कि हुदैन भन्ने प्रश्न नै मुल प्रश्न भएको भन्दै संविधान कुल्चिएर असंवैधानिक बाटो हिड्ने सरकारको कदम नसच्चीए तेस्रो जनआन्दोलन हुन सक्ने संकेत गरे ।
उनले भने ‘सरकारले संसद विघटन गरेर मुलुकलाई ठूलो राजनीतिक र संबैधानिक संकटमा धकेल्ने काम गरेको छ । प्रकारान्तले यो फेरी देशमा गृहयुद्ध होस् भन्ने चाहेको हो केपी ओली जिले ? यो संविधानलाई कुल्चिने भनेको शान्तिलाई पनि कुल्चिने भन्या हो ।’
उनले पार्टी विधान विपरित प्रधानमन्त्री ओलीले एकपक्षीय ढंगले आफु एक नम्बरको अध्यक्ष भन्दै हिडेको बताए । महाधिवेशन सम्म दुई अध्यक्ष राख्नै पर्ने व्यवस्था रहेपनि १ र २ नम्बरको अध्यक्ष भन्ने व्यवस्था नभएको र बराबरी हैसियत भएको उनले स्पष्ट पारे ।
‘यो विचित्रको कुरा गरेका छन् केपी जीले । निर्वाचन आयोगमा पनि मै हो एक नम्बरको भनेका छन् । एक दुई भन्ने कहीँ पनि छैन । पहिलाको सहमति पनि दुईवटा बराबरी भन्ने हो । विधानमा पनि दुईवटा बराबरी भन्ने नै हो हैसियत, अधिकार । जबरजस्ती उनले आफूलाई एक नम्बर बनाएका छन् ।’

