आजको माैसमः काठमाडौंमा दिउँसो १-२ बजेपछि हल्का वर्षा, देशैभर बदली


काठमाडाैं – हाल देशका केही स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको हो।

अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको छ। महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार आज दिनभरि नै मौसममा बदली हुनेछ।

उनले आज दिनभरजस्तो बादल लाग्ने भन्दै कतै कतै सामान्य घाम लागे पनि केही बेरमै बादलले छोप्ने जानकारी दिइन्।

मौसमविद् कँडेलका अनुसार आज काठमाडौंमा दिउँसो १-२ बजेपछि हल्का वर्षाको सम्भावना छ। तर, लामो समयसम्म र ठूलो पानी नपर्ने उनले जानकारी दिइन्।

अबका एक-दुई दिन देशभर मौसममा बदली हुने उनले जानकारी दिइन्। देशका केही स्थानमा दिउँसोको समयमा पानी पर्ने सम्भावना बढी हुने उनले बताइन्।

आज तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको उनले बताइन्। उनले आज सामान्य अवस्थामा भन्दा केही बढी हावाहुरी चले पनि ठूलै असर भने नगर्ने उनले स्पष्ट पारिन्।

‘आज तराईमा हावाहुरीको सम्भावना छ, काठमाडौंमा पनि हावाहुरी चल्छ, तर ठूलै असर गर्ने गरी आउँदैन। सामान्य अवस्थामा भन्दा अलि बढी मात्र हो’, उनले भनिन् ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ।

देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि शनिबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया