उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्षबीच शिष्टाचार भेट


काठमाडौं – उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड’का उपाध्यक्ष झाङ शाओगाङबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

सोमबार भएको भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले चीन नेपालको दोस्रो ठूलो अन्तराष्ट्रिय व्यापार साझेदार मुलुक रहेको र नेपालमा लगानीमैत्री वातावरण भएकोले चिनियाँ लगानीको सँधै स्वागत गरिने बताए।

केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर आयात तथा निर्यातलाई समेत सहज गर्नुपर्ने आवश्यकता उपप्रधानमन्त्री श्रेष्ठले औंल्याए। चीन नेपालको दोस्रो व्यापारिक साझेदार मुलुक रहेको र चीन नेपाल व्यापार घाटा धेरै भएकाले त्यसलाइ घटाउन आपसी समझदारीका आधारमा अघि बढनु पर्ने आवश्यकता औल्याए।

नेपालको एक चीन नीतिप्रतिको दृढता श्रेष्ठले दोहोर्‍याए। तेस्रो कार्यकालका लागि निर्वाचित चिनियाँ राष्ट्रपति सि जिनपिङ र नवनिर्वाचित प्रधानमन्त्री ली छ्याङलाई बधाई दिंदै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरे।

त्यसक्रममा उपाध्यक्ष झाङले झण्डै चार वर्ष लामो कोभिड संक्रमणले चीनको वैदेशिक लगानी तथा व्यापारमा असर परेपनि चीन अब कोभिडबाट खुल्ला भएकोले सहजता भएको बताए। कोभिट्का कारण चीन र नेपालको बीच भ्रमण आदानप्रदान हुन नपाएको र त्यसबाट व्यापारमा समेत असर परेको बताए। नेपाल आफूहहरूको पुरानो र नजिकको मित्र भएको र नेपालमा थप लगानीको निश्चितता गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको उनले बताए।

झाङले नेपालले ठूलो प्राविधियुक्त उद्योग-निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने बताए।

प्रतिक्रिया