

जनमत पार्टीबाट उपराष्ट्रपतिमा ममताको उम्मेदवारी दर्ता

काठमाडौँ – उपराष्ट्रपति पदको निर्वाचनका लागि जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी छन्।
आज दिउँसो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएकी हुन्।
बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ।
दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ बजेदेखि अपराह्न ३ बजेसम्ममा हुनेछ। यस्तै ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ।
यस्तै, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे तोकिएको छ। त्यही दिन १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता गर्ने र ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने गरी कार्यक्रम तय भएको छ।
उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुनेछ।

