नेविसंघ अध्यक्ष दुजाङलाई बर्खास्त गर्न चौतर्फी माग

शेर्पाले संगठन विस्तारका नाममा संगठनमै नभएकालाई मनोनित गरेपछि देशैभर उनलाई बर्खास्त गर्न माग गरिएको छ


काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्तीको माग गरिएको छ । संगठन विस्तारको क्रममा मनोमानी ढंगले काम गर्दै गएपछि शेर्पाविरुद्ध देशभरका विभिन्न जिल्लामा आवाज उठ्न थालेको धेरै भए पनि केन्द्रले बेवास्ता गर्दा उनको मनोमानी अझै बढ्दै गएको छ ।

पछिल्लो समय नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले नै उनीविरुद्ध आवाज उठाउन थालेका छन् । उनको तत्काल बर्खास्तीको माग गर्दै दोलखा जिल्ला सभापतिले कांग्रेस सभापति शेरबहादुर देउवालाई एक विज्ञप्ति नै पेश गरेका छन् । त्यस्तै दुजाङको बर्खास्तीको माग मकवानपुर कांग्रेसले पनि गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समितिले दोलखाका पार्टी सभापति बर्मा लामाले नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गरेका हुन् । पार्टीको सर्वसम्मत सिफारिसलाई बेवास्ता गरी शेर्पाले दोलखामा साधारण सदस्य नै नभएको व्यक्तिलाई नेविसंघको जिल्ला अध्यक्ष मनोनीत गरेको भन्दै बस्खास्त गर्न माग गरिएको हो ।

‘पार्टीको जिल्ला तहले गरेको सर्वसम्मत निर्णय र सिफारिस लत्याई व्यक्तिगत स्वार्थ र काठमाडौंतिरको निकटताको आधारमा जिल्ला अध्यक्ष तोक्ने र प्रत्येक जिल्लामा विवाद सिर्जना गर्ने नेविसंघका असक्षम केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई तत्काल बर्खास्त गर्न माग गर्दछौं,’ बर्माले पठाएको पत्रमा उल्लेख छ।

नेविसंघ केन्द्रीय समितिले जिल्ला अध्यक्षको नाम सिफारिस गर्न पत्र पठाएपछि दोलखा कांग्रेसले सर्वसम्मत रुपमा सौगात थापाको नाम सिफारिस भएको थियो ।तर, दुजाङले अर्कै व्यक्तिलाई अध्यक्ष तोकेर पठाएको आरोप छ ।

No description available.

त्यस्तै नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पनि देउवालाई पत्र पठाउँदै नेविसंघ अध्यक्ष शेर्पाको बर्खास्तीको माग गरेका हुन् ।

सभापति देउवालाई पठाएको पत्रमा कांग्रेस मकवानपुरले सर्वसम्मत सिफारिस गरेको नेविसंघ मकवानपुरका अध्यक्ष सुवास सापकोटालाई बर्खिलाप गरी स्ववियु चुनावमा नेविसंघलाई असफल बनाउने भूमिका साथ मकवानपुरमा नेविसंघ साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई अध्यक्ष बनाइएको भन्दै त्यसतर्फ कांग्रेस मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

नेविसंघ मकवानपुरले सापकोटाको नेतृत्वमा स्ववियु निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको र पार्टीका तर्फबाट सहसचिव इन्दिरा न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय स्ववियु परिचालन समितिसमेत गठन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

नेविसंघ अध्यक्ष शेर्पाले बुधबार नै एक विज्ञप्ति जारी गरी भिषण ठकुरी नेतृत्वको जिल्ला कार्यसमितिबाहेक अरू कुनै पनि कार्यसमिति अस्तित्वमा नरहेको उल्लेख गरेका थिए ।

शेर्पा अध्यक्ष भएदेखि समयमा गर्नुपर्ने कुनै पनि काम नगरेको र विभिन्न जिल्लामा संगठन विस्तारका क्रममा गरेको मनोमानीका साथै संगठनबाहिरकालाई जिम्मेवारी तोकिएपछि उनीविरुद्ध देशभरका अधिकांश जिल्लामा विवाद देखिएका छन् ।

प्रतिक्रिया