आइसिसी विश्वकप क्रिकेट लिग टुः नेपाल र पीएनजी आज भिड्दै


काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आज नेपाल र पपुवान्युगिनी (पीएनजी) बीच खेल हुँदैछ ।

नेपालको घरेलु मैदानमा हुने पीएनजी, युएई र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखलाको पहिलो नेपालमा नेपाल र पीएनजीबीचको खेल आज हुने भएको हो ।

विश्वकप छनोटका लागि आगामी चारवटै खेल जित्नुपर्ने लक्ष्यसहित मैदानमा उत्रिन लागेको नेपालले यसअघि युएईमा भएको शृंखलाका दुईवटै खेलमा पीएनजीलाई पराजित गरेको थियो ।

लिग टुमा  नेपाल  ३२ खेलमा ३२ अंक छ र पाचौं  स्थानमा छ । युएई ३२ खेलमा ३१ अंक सहित छैटौं स्थानमा छ । सातौं स्थानको पपुवा न्युगिनीको भने ३२ खेलमा ९ अंक छ ।

लिगका सबै खेल खेलिसकेको स्कटल्यान्ड ५० र ओमान ४४ अंकसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमानले जिम्बाब्वेमा विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ । बाँकी एक स्थानका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् ।

तेस्रो स्थानको नामिबिया ३६ खेलमा ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ अंक छ ।

लिग टुको अन्तिम शुंखलामा नेपालले युएई र पिएनजीसँग खेल्दैछ । सार्वजनिक तालिका अनुसार नेपालले फागुन २५ र २९ मा पिएनजी तथा फागुन २८ र चैत दुईमा युएईसँग खेल्नेछ । यसैगरी पिएनजी र युएईले फागुन २६ र चैत एकमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले   दुई साता अगाडी लिग टु अन्तर्गत घरेलु भूमिमा चार वटै खेल जितेको थियो । त्यसलगत्तै सुरु भएको युएई भ्रमणमा पनि तिन खेल जितेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि १४ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

लिगमा बाँकी रहेको चार खेल जितेमा नेपालको तेस्रो स्थानमा बस्दै विश्वकप छनोट खेल्ने लक्ष्यले पूर्णता पाउने छ । चारमध्ये दुई खेल जिते नेपालको एकदिवसीय मान्यता भने कायम रहनेछ ।

नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह  ऐरी,  सन्दीप लामिछाने,  करण केसी ,प्रतिश जिसी, कुशल मल्ल, आरिफ सेख, सोमपाल कामी , गुल्सन झा, भिम सार्की, ललित राजवंशी

प्रतिक्रिया