सन्दीपलाई थुनामा राख्नु नपर्ने सर्वोच्चको आदेश, विदेश जान अनुमति


काठमाडौं – सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ ।

उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ ।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले सन्दीपलाई विदेश जानबाट रोक नलगाउने आदेश दिएको हो ।

आईसीसी विश्वकप लिग-२ को यूएईमा भइरहेको क्रिकेट प्रतियोगितमा खेल्न नेपाल क्रिकेट टोलीको सदस्यको रूपमा जान अनुमति पाऊँ भन्दै लामिछानेले दिएको निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो।

यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो ।

सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।

उनीमाथि बलात्कार अभियोग लागेको छ। उक्त मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। लामिछानेले यसअघि अघिल्लो साता राजधानीमा सम्पन्न त्रिकोणात्मक एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया