एआईजी बढुवामा रस्साकस्सी, आईजीको रोजाईमा को-को ?


काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको तयारी गरेको छ । एआईजी बढुवाको प्रतिस्पर्धीमा १९ जना नायब प्रहरी महानिरीक्षक (डिआईजी) हरु रहेका छन् ।

गत साउनदेखि एआईजीको दरबन्दी रिक्त भएपनि सरकारले ७ महिनासम्म कसैलाई बढुवा गरेको छैन । प्रहरी नियमावलीमा कुनै पनि दरबन्दी तीन महिनाभन्दा बढी रिक्त गर्न नहुने व्यवस्था छ । तर, यसको कार्यान्वयन भएको देखिँदैन ।

बरियताअनुसार हालका आईजी सिंहका ब्याचीहरु समेत प्रतिस्पर्धामा छन्, नल प्रसाद उपाध्याय, मसाउद आलम खाँ र मोहन कुमार आचार्य । तर, उनीहरु बढुवा हुने सम्भावना न्यून छ । कार्यक्षमतामा कमजोर रहेको भन्दै आईजी सिंहले समेत उनीहरुलाई बढुवा गर्न चासो देखाएका छैनन् ।

अबको एक महिनामा उनीहरु तीनैजना ३० वर्षे सेवाअवधीका कारण आईजी सिंहसँगै अवकाशमा जानेछन् । यद्यपी आईजी सिंह ३० वर्षे हटाउन लागिपरेका छन् । त्यस्तो अवस्थामा सिंहले नै निरन्तरता पाउनेछन् र उनीहरुको समेत जागिरअवधी लम्बिनेछ ।

यदी ३० वर्षे नै कायम रहेको अवस्थामा अर्को ब्याचका एआईजी बढुवाको मुख्य प्रतिस्पर्धीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह (राजीनामा दिएका), दीपक थापा र श्यामलाल ज्ञवाली अगाडि देखिएका छन् ।

कुँवर हाल मधेश प्रदेश प्रहरी प्रमुख छन् भने राई लुम्बिनी प्रदेश, थापा बागमति प्रदेश र ज्ञवाली १ नम्बर प्रदेश प्रहरी प्रमुख छन् । उनीहरुले समेत आ-आफ्नो ठाउँबाट बढुवाको लागि लबिङ गरिरहेको स्रोत बताउँछ ।

यी मध्ये कार्यक्षमता र पहुँचका आधारमा थापा पहिलो नम्बरमा देखिएका छन् । बरियतामा ४ नम्बर भएपनि उनी बढुवाको दाबेदारमा एक नम्बरमै देखिन्छन् । आईजीपी सिंह समेत थापालाई अगाडि ल्याउने पक्षमा छन् ।

त्यसैले पनि उनको सम्भावना प्रबल रहेको प्रहरी स्रोत बताउँछ । संगठनका लागि इमान्दार रही हालसम्म काम गदै आएका थापा नेपाल प्रहरीभित्र राम्रै छवि बनाएका प्रहरी अधिकृत हुन् । नेपाल प्रहरीमा जहाँ जस्तोसुकै परिस्थितिमा पनि थापाले नै सहज रुपमा त्यसको समाधान गदै आएका छन् ।

उनले संगठन निर्माणदेखि नेपाल प्रहरीभित्र नीति निर्माण गर्दा समेत उनको भूमिका राम्रै रहेको छ । सोहीकारण पनि उनी सबै संगठन प्रमुखको नजरमा पर्ने अधिकृत हुन् । निरन्तर संगठनलाई कसरी बलियो र निडर भई अगाडि बढाउनेतिर लाग्ने थापालाई वर्तमान सरकारको समेत साथ रहेको बुझिएको छ ।

त्यस्तै कुँवर समेत हालका आईजी सिंहको नजरमा राम्रा अधिकृत हुन् । आफ्नो रोजाईमा कुँवरलाई मधेश प्रदेशको जिम्मेवारी दिएर पठाएका सिंहले कुँवरलाई अगाडि ल्याउँदा समेत अफ्ठ्यारो नपर्ने बुझेका छन् । कुँवर पनि प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृत हुन् ।

त्यस्तै लुम्बिनी प्रदेशको प्रहरी प्रमुख रहेका राई समेत विवादरहित प्रहरी अधिकृत हुन् । उनलाई आईजी बनाउन अख्तियार प्रमुख रहेका प्रेमकुमार राई लागिपरेका छन् । आईजी सिंहको रोजाईमा नपरेपनि उनले अन्य शक्तिकेन्द्रमार्फत सरकारलाई दबाब दिइरहेका छन् ।

त्यस्तै ज्ञवाली पनि एआईजी प्रतिस्पर्धामा छन् । नेकपा एमाले निकट मानिएका ज्ञवालीलाई समेत अगाडि ल्याउन शक्तिकेन्द्रहरुले दबाब दिइरहेको स्रोत बताउँछ । ज्ञवालीका दाजु ठाकुर ज्ञवाली पूर्वआईजीपी समेत हुन् । उनी पनि इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिएका छन् ।

त्यस्तै किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा समेत एआईजीका प्रतिस्पर्धी हुन् ।

यद्यपि, चार जनामहिला समेत रहेकाले एआईजी बढुवा प्रतिस्पर्धामा समाबेशी गराउनुपर्ने दबाब पनि सरकारमाथि छ । सरकारले एक जना महिला एआईजी बढुवा गर्ने सम्भावना पनि छ । अहिलेको अवस्थामा उनीहरुमध्ये जो एक नम्बरमा एआईजी हुन्छन्, ती व्यक्तिनै आईजी बन्ने सम्भावना छ ।

नयाँ आईजी बनाउन विचौलिया हावी

३० औं प्रहरी महानिरीक्षक को बन्ने र कस्लाई बनाउने भन्ने विषयमा यतिबेला विचौलियाहरुले ठुलै चलखेल शुरु गर्न थालेका छन् । संगठनमा इमान्दारिता, कामको मूल्यकानभन्दा पनि राजनीतिक पावर र कस्ले बढी चलखेल गर्नसक्छ भन्ने तिर विचौलियाहरुले खेलेका छन् ।

५ एआईजीको बढुवाको प्रतिस्पर्धामा २० जना डिआईजीहरु दौडधुपमा लागेका छन् । तर, वर्तमान सरकार शक्तिको आडमा भन्दा नेपाल प्रहरीमा काम र क्षमताको आधारमा बढुवा गर्न अग्रसर रहेको बालुवाटार स्रोत बताउँछ ।

प्रहरी संगठनमा पैसा राजनीतिक पावर भन्दा पनि क्षमता र दक्षका आधारमा बढुवा हुनेमा ढुक्क रहन गृहमन्त्री समेत रहेका प्रधानमन्त्री प्रचण्डले मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । प्रचण्डको निर्देशनपछि पैसा र राजनीतिक पावर अब नेपाल प्रहरीमा नचल्ने प्रष्ट देखिएको छ ।

प्रतिक्रिया