
सन्दीपको निवेदनमा आज पेसी, सर्वोच्चबाट आउला त विदेशमा क्रिकेट खेल्न जाने आदेश ?
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाई आज हुने भएको छ ।
पाटन पुनरावेदन अदालतको देशबाहिर जान बन्देज लगाएको आदेशको खारेजको माग गर्दै सन्दीपले निवेदन दिएका थिए ।
आजको सुनुवाईबाट सन्दीपले भोली (शनिबार) देखि हुने नेपाली क्रिकेट टोलीको युएई भ्रमणमा समावेश हुने कि नहुने भन्ने कुराको टुंगो लाग्नेछ ।
यदि सर्वोच्चले सन्दीपलाई विदेशीभूमिमा क्रिकेट खेल्न पाउने आदेश दिएको खण्डमा उनी पनि युएई भ्रमणमा सामेल हुनेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले युएई भ्रमणमा सहभागी हुने नेपाली राष्ट्रिय टिमको घोषणा गरिसकेको छ । सो टिममा सन्दीप लामिछाने समावेश भएका छैनन् ।
सन्दीपले काठमाडौंमा सम्पन्न त्रिकोणात्मक सिरिज क्लिनस्विप गर्न प्रमुख भूमिका खेलेको हुनाले सर्वोच्चले खेल्नकै लागि विदेश जानबाट रोक लगाउने आदेश खारेज गरी नेपाली क्रिकेटको भविष्यलाई अगाडि बढाउने गरी आदेश दिनुपर्ने क्रिकेटप्रेमीहरुले जनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सिरिज जितेका नेपाली खेलाडीहरुलाई २ लाख नगदसहित सम्मान गर्ने निर्णय गरेकोले खेलाडीहरुमा हौसला बढेको जनाउँदै उत्कृष्ट लयमा रहेका सन्दीपलाई पनि अदालतले खेल्नकै लागि विदेश जानबाट बञ्चित गर्न नहुने क्रिकेटप्रेमीहरुले जनाएका छन् ।



कागजपत्र |
