

यू–१९ विश्वकप एशिया छनोटः आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं– यू–१९ विश्वकपको एशिया छनोटका लागि आज (बिहीबार) नेपाल र सिंगापुर भिड्दै छन् । हिजो (बुधबार) साँझ युएई पुगेको नेपाली यू-१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिड्न लागेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाई गरेको थियो । क्यानका अनुसार दोस्रो खेल १३ फागुनमा कुवेतसँग हुनेछ भने १५ फागुनमा हङकङसँग खेल्नेछ ।
१६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।
उक्त खेलमा विजेता एउटा टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्ने मौका पाउने छन् । त्यसका लागि यू–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले मंगलबार मात्र देव खनाललाई कप्तान चयन गरेका थिए ।
यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी यूएईमा हुने अर्को खेल आईसीसी क्रिकेट विश्वकप लिग–२ को श्रृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो ।

