

तस्करीको आशंकामा सर्जिकलका सामग्री बरामद

विराटनगर – तस्करीको आशंकामा प्रहरीले विराटनगर महानगरपालिका-५ कोचाखालबाट बिहीबार बिहान सर्जिकलका सामग्री (शल्यक्रिया गर्दा प्रयोग हुने सामग्री) बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बिहान साढे ६ बजेतिर को १ ह १३२५ नम्बरको सीटी सफारीसहित उक्त सामग्री नियन्त्रणमा लिएको हो।
सफारी चालक विराटनगर–१२ का ५६ वर्षीय शिवशंकर मण्डललाई पनि पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। उनका अनुसार सफारीमा राखी भारतबाट तस्करी गरेर नेपालतर्फ ल्याउँदै गरेका बेला १ लाख ५० हजार मूल्य बराबरको सामग्री नियन्त्रणमा लिइएको हो।
बरामद गरिएको सामग्रीसहित सफारी र चालकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको एसपी पोखरेलले बताए। तर, सामग्रीका धनी सन्तोषकुमार सिंहले भने वैधानिक हिसाबले ढुवानी भइरहेका बेला सामान नियन्त्रणमा लिएर प्रहरीले दुःख दिएको गुनासो गरेका छन्।
उनका अनुसार विराटनगर–१२ को कान्ति सर्जिकल एण्ड सप्लायर्सबाट नोबेल शिक्षण अस्पतालनजिक रहेको एमडी सर्जिकल सप्लायर्समा पठाउँदै गरेका बेला सामानसहित सफारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
‘एउटा सप्लायर्सबाट अर्कोमा पठाउँदै गरेका बेला सामान र सफारी नियन्त्रणमा लिएर तथा सफारी चालकलाई पक्राउ गरेर प्रहरीले दुःख दियो,’ उनले भने, ‘भ्याट बिल देखाउँदा पनि प्रहरीले छाडेन।’
सिंहका अनुसार भ्याटसहित सामान ४६ हजार २ सय ७३ रुपैयाँ ५० पैसा बराबरको मात्रै थियो। प्रक्रिया पूरा गरेर चुस्तदुस्त हिसाबले मेडिकल सामग्री ढुवानी गर्दा प्रहरीले दुःख दिने नियत राखेको उनको गुनासो छ।

