


सांसद भण्डारीलाई मुम्बई लगिँदै, अस्पतालबाट विमानस्थलका लागि निकालियो, ६ डाक्टर पनि सँगै जाँदै

काठमाडौं – ग्यास सिलिण्डर विस्फोटपछि घाइते भएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजान कीर्तिपुर अस्पतालबाट विमानस्थल लैजाने तयारी गरिएको छ । अहिले अस्पतालबाट निकालेर विमानस्थल लैजाँदै गरिएको जनाइएको छ ।
कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थल लगिने र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लैजाने भएको हो ।
स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।
एयर एम्बुलेन्सको रुपमा लगिने सो फ्लाइटमा नर्भिकका ६ जना चिकित्सकको टीम फ्लाइटमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीसँग जाने ६ जना चिकित्सकमा नर्भिकका क्रिटिकल केयर (सिसियू) प्रमुख डा. प्रदिप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा. वृहस्पति र फ्लाइट डाक्टर डा.रोशन शर्मा रहेका छन् भने तीन जना पारामेडिक्स ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन् ।
बुधबार राति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको आज बिहान उपचारकै क्रममा निधन भएको छ ।

