ओलीलाई प्रदीप पौडेलको जवाफ- राष्ट्रपतिमा कांग्रेसले ढोक्सा थाप्छ


काठमाडौं – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संवैधानिक मर्यादाको रक्षा गर्न र देशको अभिभावक राष्ट्रपति हो भन्ने स्थापित गर्न कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने बताएका छन्।

आज बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले राष्ट्रपतिलाई ‘रबर स्ट्याम्प’ बनाउन खोजिएको भन्दै सांसद पौडेलले त्यस्तो हुन नदिइने बताएका हुन् ।

‘यहाँ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ। आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ। आवश्यकता पर्‍यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ। त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको भनेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं,’ पौडेलले भने।

उनले संवैधानिक मर्यादाको रक्षा गर्न, देशको अभिभावक राष्ट्रपति पद हो भन्ने स्थापित गर्न र संविधानका सम्पूर्ण मान्यतामा दत्तचित्त हुने व्यक्ति राष्ट्रपति बनाउन कांग्रेस प्रतिवद्ध रहेको बताए।

‘हामी स्थिरताका पक्षमा छौं। गठबन्धन भत्काउन प्रयास गरेका होइनौं। सुदूरपश्चिममा गठबन्धन भत्कियो, के कांग्रेसको कारण गठबन्धन भत्किएको होरु,’ उनले भने, ‘अहिलेको गठबन्धन जगदैदेखि हल्लिएर भत्किएको हो, यसमा नेतृत्व गम्भीर भएन।’

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि संसदको रोष्टमबाट कांग्रेसप्रति लक्षित गर्दै दप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर ढोक्सा थापेको बताएका थिए । सांसद पैडेलले अध्यक्ष ओलीको सोही अभिव्यक्तिको जवाफको रुपमा राष्ट्रपति पदका लागि कांग्रेसले उम्मेदवारी दिने बताएका हुन् । पौडेलले एमालेको तुलनामा कांग्रेस लोकतान्त्रिक पार्टी भएको बताएका थिए।

 

प्रतिक्रिया