नामिबियाविरूद्धको विशाल जितसँगै स्टकल्याण्डलाई ‘विश्वकप क्रिकेट लिग टू’को उपाधि


काठमाडौं – ओपनर जर्ज मुन्सेको सानदार शतकमा आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ । यस जितसँगै स्कटल्यान्ड लिग २ को उपाधि विजेता बनेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार मुन्सेको शतकसँगै स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको हो । सिरिजमा नामिबियाको यो लगातार दोस्रो हार हो । मंगलबार नामिबिया नेपालसँग पराजित भएको थियो । नामिबियाले दिएको १ सय ५४ रनको लक्ष्य स्कटल्याण्डले २२.१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।

स्कटल्याण्डको जितमा मुन्सेले ६१ बलमा १२ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय ३ रनको शतकीय ईनिङ खेले । यस्तै केली कोट्जरले ७२ बलमा ७ चौका सहयोगमा अविजित ४६ रन बनाए । नामिबियाका लागि कुनै खेलाडीले विकेट लिन सकेनन् । त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा अलआउट भएर १ सय ५३ रन बनाएको थियो ।

नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४ रनमा आउट हुँदा बेर्नाड स्कोल्टेजले ३० रन बनाए । जान ग्रिनले २५ रन बनाउँदा प्रिन्कि फ्रान्सले ११ रन बनाए । कप्तान ग्रेहार्ड इरास्मस र जान निकोल शुन्य रनमा आउट भए ।

मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३/३ विकेट लिए । विश्व लिग २ मा सात टोली सहभागी छन् । स्कटल्याण्डले ३३ खेलमा ४८ अंक जोडेर शीर्ष स्थान हासिल गरेको हो ।

अन्य टोलीले बाकीँ सबै खेल जितेपनि स्कटल्याण्ड भन्दा अगाडी पुग्नेछैन । नामिबिया भने ३२ खेलमा ३७ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । स्कटल्याण्डले आगामी जुनमा जिम्बाबेमा हुने आईसीसी एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाईसकेको छ ।

मंगलबारबाट सुरु त्रिकोणत्मक सिरिज फागुन ९ गतेसम्म संचालन हुनेछ । यस सिरिजमा सहभागी तीनवटै टिमले एक अर्काविरुद्ध समान २र२ खेल खेल्ने छन् । सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ ।

यस्तै नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।

प्रतिक्रिया