ग्वार्कोमा ‘फ्लाइओभर’ को काम : सवारी चाप कम गर्न कोटेश्वरबाटै ‘ट्राफिक डाइभर्ट’


ललितपुर – ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ ।

कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र वा बाहिरी सडकबाट चल्दा जाममा कम हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ । केही दिनयता सवारीसाधन दुई घण्टासम्म पनि रोकिने अवस्था आएपछि ट्राफिक डाइभर्ट गर्नुपर्ने अवस्था आएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

सडक विभागले चार लेन सडकको बीचमा निर्माण सुरु गरेसँगै सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ । हाल बालकुमारी पुलदेखि ग्वार्को चोकसम्म सडक छेउका दुई–दुई लेनमा मात्रै यातायात सञ्चालन भइरहेको प्रवक्ता भट्टले जानकारी दिए । अहिले सर्भिस लेन र सर्भिस ट्र्याकबाट मात्रै सवारीसाधन चलिरहेका छन् । ‘फ्लाई ओभर’को निर्माण सकिन एक डेढ वर्ष लाग्ने र तबसम्म उक्त रुटमा चल्ने सवारीसाधनले विकल्प खोज्नुपर्ने उनको भनाइ छ ।

उनका अनुसार कोटेश्वरदेखि ललितपुरतर्फ जाने सवारीसाधन बालकुमारी पुलको बाटो नभइ जडीबुटीदेखि टिकाथली वा इमाडोल हुँदै सातदोबाटो पुग्न सक्ने उनको भनाइ छ । ‘लुभू, इमाडोल जानेहरु यही सडकको प्रयोग गर्न सक्छन्’, उनले भने, ‘यसो गर्दा सडकमा ट्राफिक जाम कम पनि हुन्छ ।’

प्रतिक्रिया