मिडियाले कुनै व्यक्ति र दल विशेषलाई निशाना बनाउन खोज्नु हुँदैनः मनिष झा


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन्।

निर्वाचन पछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एकछिन विश्राम नगरी निकै तीव्र गतिमा कार्यसम्पादन गरेको दलले निष्कर्ष निकालेको झाले बताए।

नेता झाले भने, ‘पार्टी जहाँ छ, हामी जे अवस्थामा छौँ, त्योप्रति सबैको स्वीकारोक्ति छ, सबैले स्वामित्व लिएका छौँ। हामी सबै ठीक ठाउँमै छौँ।’

पार्टी सभापति रवि लामिछानेले समसामयिक विषयमा दिएको अभिव्यक्तिप्रति सबै सदस्यको ऐक्यबद्धता र पूर्ण समर्थन रहेको उनको भनाइ छ। प्रतिनिधि सभा सदस्य समेत रहेका झाले राजनीति, निजी क्षेत्र, नागरिक समाजले जस्तै मिडियाबाट पनि आफ्नो जिम्मेवारी र भूमिकाको आत्मसमीक्षा जरुरी भएको दलको धारणा रहेको बताए।

मिडियाले राष्ट्रियता, सार्वभौम सुरक्षा, संविधान पालना गराउने जस्ता विषयमा अन्तरनिहित स्वार्थ स्वभाविक भए पनि कुनै व्यक्ति र दल विशेषलाई निशाना बनाउन खोज्नु हुन्न भन्ने रास्वपाको मत रहेको उनले उल्लेख गरे।

अनुसन्धानकर्तासमेत रहेका झाले भने, ‘७ महिनाको अवधिमा जुन क्षमता, दक्षता, रणनीति लिएर राष्ट्रिय दलको भूमिकामा पुगिएको छ, अबको गन्तव्य भनेको बाचापत्रमा लेखिएका विषय सङ्गठनलाई बलियो बनाएर कार्यन्वयनमा लगिनेछ।’

युवा पुस्ताले राजनीतिक दललाई कसरी सञ्चालन गर्न सक्छन् भनी उदाहरण प्रस्तुत गर्ने अठोट व्यक्त गर्दै उनले भने, ‘पछिल्लो पत्रकार सम्मेलन अर्को कार्यदिशामा हिँड्नका लागि टर्निङ प्वाइन्ट हो।’

प्रतिक्रिया