

पत्रकारमाथिको आरोप पुष्टि गर्न लामिछानेलाई मिडिया सोसाइटीको चुनौती

काठमाडौं — नेपाल मिडिया सोसाइटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सञ्चार संस्था र पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ ।
लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति लगाएको आरोप आधारहीन, पूर्वाग्रही र मनगढन्ते भएको भन्दै सोसाइटीले प्रमाण भए पुष्टि गर्न चुनौती दिएको हो ।
सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लामिछानेको धम्कीपूर्वक अभिव्यक्तिप्रति नेपाल मिडिया सोसाइटीको गम्भीर ध्यानाकर्षण मात्र भएको छैन, तत्काल लामिछानेले आफ्नो गल्ती सच्याउन, गालीगलौज फिर्ता लिन आग्रह गर्दै यदि उनीसँग आरोपित गरिएका मिडिया र मिडियाकर्मीप्रति कुनै प्रमाण भए पुष्टि गर्नसमेत चुनौती दिन चाहन्छौँ ।’
सोसाइटीले लामिछानेको अभिव्यक्ति प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिकै घात भएको टिप्पणी पनि गरेको छ । आइतबार पत्रकार सम्मेलन गरेर लामिछानेले सञ्चार संस्था र पत्रकारहरूको नामै किटेर विभिन्न लाञ्छना लगाएका थिए । उनको अभिव्यक्तिले सिर्जित हुन सक्ने कुनै अप्रिय घटनाको पनि स्वयं लामिछाने र उनको दल जिम्मेवार हुनुपर्ने सोसाइटीको चेतावनी छ ।

