

श्रोत नखुलेको २० लाख रुपैयाँसहित युवक पक्राउ

वीरगन्ज – वीरगन्जमा प्रहरीले श्रोत नखुलेको ठूलो रकमसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले बाराको विश्रामपुर गाउँपालिका-४ का २७ वर्षीय श्यामकिशोर प्रसाद साहलाई श्रोत नखुलेको २० लाख रुपैयाँसहित पक्राउ गरेको हो।
साहलाई वीरगन्ज-१६ रजतजयन्ति चोकस्थित सडकबाट बिहीबार बिहान पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।
भारतको रक्सौलबाट प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकलमा आएका साहलाई रोकेर चेकजाँच गर्दा उनको साथबाट श्रोत नखुलेको १ हजार दरका १६०० थान नोट र पाँच सय दरका ८०० सय थान नोट बरामद भएको शाहले बताए।
मोटरसाइकल र बरामद नोटसहित साहलाई नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

