

रवि लामिछानेको नेपाली नागरिकता पुनः कायम

काठमाडौं – रवि लामिछानेको नेपाली नागरिकताको पुनः कायम भएको छ । लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः कायम गरेको हो ।
लामिछाने आज नागरिकता पुनः प्राप्तिको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं गएका थिए । सर्वोच्च अदालतले शुक्रबार रविले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको थियो ।
सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि रविले मन्त्री र सांसद पद गुमाएका छन् । लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएर प्रक्रिया पूरा गरी नयाँ नागरिकता पाएका छन् ।
‘उहाँ (रवि लामिछाने)ले अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर नेपाली नागरिकताको प्रमाणपत्र आज लिनुभएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जानकारी दिए ।
अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रूपमा गरेका सबै कार्य अवैध हुने सर्वोच्चको संवैधानिक इजलासले फैसला गरेको थियो ।
शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो।
लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय गरेको थिएन । मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछाने चितवत-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

