

प्रेमप्रसादको परिवार भेट्न अस्पताल पुगे गृहमन्त्री लामिछाने

काठमाडौं – मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई गृहमन्त्री रवि लामिछानेले कीर्तिपुर अस्पताल पुगेका छन् ।
मंगलबार आत्मदाहको प्रयास गरेको आचार्यको आज (बुधबार) बिहान किर्तीपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको निधनपछि गृहमन्त्री लामिछानेले नयाँ दलहरूको आगमनले पनि आशा जगाउन नसक्नुको दोष आफ्नो भएको स्वीकारेका थिए ।
उनले फेसबुकमा लेखेका थिए, ‘दुस्ख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन । आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौँ, म दोषी छु । प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकेनौँ । हामीलाई माफ गर्नु होला ।’
कीर्तीपुरस्थित अस्पतालमा जम्मा भएका प्रेमका आफन्तले उनको शव जिम्मा लिनु अघि राज्यको जिम्मेवार निकाय उपस्थित भएर सम्बोधनको अपेक्षा गरेका थिए । विभिन्न पेशा व्यवशााय गरि जिविका चलाउँदै आएका प्रेमले देशको राजनैतिक र व्यवस्थापन प्रतिकुल रहेका कारण सफल हुन नसकेको र ऋणका कारण जिवन जिउन गाह्रो परेको भन्दै लामो चिठ्ठी लेखेर संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका थिए । आचार्यले राज्यप्रति वितृष्णा प्रकट गर्दै संघिय संसद भवन अगाडि आत्मादाहको प्रयास गरेपनि सरकारका कुनैपनि निकायबाट कुनैपनि प्रकारको प्रतिक्रिया नआएको र राज्यले वेवास्ता गरेको मृतक आचार्यका आफन्तको गुनासो गरेका थिए ।
प्रहरी र अस्पताल प्रशासनले पनि छिटोभन्दा छिटो शव बुझ्न आफन्तलाई दबाब दिइरहेको अवस्थामा परिवार र आफन्तले सरकारको आधिकारीक प्रतिक्रिया पर्खिरहेको थियो । मंगलबार साँझ आचार्यलाई भेट्न राज्यमन्त्री कार्की पुगेकी थिइन्। आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई भेट्न पठाइदिन आग्रह गरेका थिए ।

