तथ्य, प्रमाण र दल ऐनको व्यवस्था बमोजिम आधिकारिकता हामीले पाउँछौँ : झलनाथ खनाल


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल) समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपाको आधिकारिकता निर्वाचन आयोगले आफूहरूलाई दिनेमा शतप्रतिशत विश्वस्त रहेको बताएका छन्।

निर्वाचन आयोगमा आधिकारिकता दाबीको पत्र बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दल ऐन, तथ्य र प्रमाण हेरेर आयोगले आफूहरूलाई आधिकारिकता दिनेमा शतप्रतिशत विश्वस्त रहेको बताएका हुन् ।

उनले ओली समूहले पनि आफूलाई आधिकारिक रहेको दाबी गर्न संविधानले छुट दिएको भए पनि तथ्य, प्रमाण र दल ऐनको व्यवस्था बमोजिम आफूहरूले नै आयोगबाट आधिकारिकता पाउने बताए ।

नेता खनालले भने, ‘दल विभाजन गर्ने शक्ति (बहुमत) नभए पनि राजनीतिक रुपमा विभाजित पार्टीको एउटा सानो टुक्रा त बालुवाटार पनि हो, आधिकारिकताको दाबी उसले पनि गर्न पाउँछ, तर अब वास्तविक आधिकारिक को हो त? दल ऐनमा टेकेर निर्वाचन आयोगले निरुपण गर्नुपर्छ, तथ्यहरूका आधारमा । त्यो समय आइपुगेको छ।’

उनले सुरुमा दुवै समूहले आ–आफू आधिकारिक रहेको दाबी गरे पनि यो विवाद निरुपणको समय बल्ल आइपुगेको बताए।

प्रतिक्रिया