बागमतीमा घटाइयो ३ मन्त्रालय, आज मन्त्रीपरिषद् विस्तार गर्दै जम्कट्टेल

दिउँसो २ बजे सपथ लिँदै नयाँ मन्त्रीहरू


हेटौंडा — बागमती प्रदेशमा पनि मन्त्रालय संख्या घटाएर ११ कायम गरिएको छ । यसअघि १४ मन्त्रालय रहेकोमा प्रदेश प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन दिएको थियो।

सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो।

बागमतीमा बुधबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ। मुख्यमन्त्रीनिकट एक सांसदले आज मन्त्रिपरिषद विस्तारको तयारी गरिएको जानकारी दिए।

बागमतीमा गत पुस २६ मा नेकपा माओवादी केन्द्रका संसदीय दल नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री भएका थिए। त्यस दिन उनले ३ जना मन्त्री बनाएका थिए। आज जम्कट्टेलले थप मन्त्रीपरिषद् विस्तार गर्ने र दिउँसो २ बजे सपथ गराउने जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशमा मन्त्रालय सं‌ख्या घटाएर राज्यलाई भार कटौती गर्न लागेको बताएका थिए। गण्डकी, कर्णालीलगायत प्रदेशमा पनि मन्त्रालय संख्या घटाइएको छ।

प्रतिक्रिया