

२ सय वर्ष पुरानो गुम्बामा आगलागी

गोरखा — चुमनुव्री गाउँपालिका–२ स्थित हिनाङको पुङचे गुम्बामा आगलागी भएको छ । मंगलबार दिउँसो साढे ४ बजेतिर आगलागी भएको खबर आएपछि प्रहरीचौकी ल्होबाट घटनास्थलतर्फ उद्धार टोली पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।
ल्होबाट गएको प्रहरी टोलीललाई हिनाङ पुग्न कम्तीमा पाँच घण्टा लाग्छ । प्रहरी टोली डेढ घण्टाअघि नै घटनास्थलतर्फ प्रस्थान गरेको छ ।
गुम्बा आसपास बस्ती नभएकाले आगलागीको अवस्थाबारे खुल्न नसकेको एसपी खनालले जानकारी दिए । ‘अहिले स्थानीयसँग पनि टेलिफोन सम्पर्क भइराखेको छैन, सम्पर्क नहुँदा कसरी आगलागी भयो र के कति क्षति छ भन्ने पनि कुनै जानकारी छैन,’ उनले भने ।
ल्हो, ल्ही, र स्यो बस्तीबाट गुम्बा टाढा रहेको र आगलागी भएको देखेपछि स्थानीयहरु पनि गुम्बातर्फ गएको चुमनुव्री गाउँपालिका–२ का वडा अध्यक्ष मिङगुर दोर्जे लामाले बताए । ‘म काठमाडौँमा छु, ४ बजेतिर आगलागी भएको खबर आएको थियो, गाउँलेलाई आगो निभाउन जानु भनेको थिएँ, सबै गाउँका मान्छे आगो निभाउन गएका छन्, अहिले कसैलाई फोन लागेको छैन,’ उनले भने ।
उक्त गुम्बा २ सय वर्ष पुरानो रहेको स्थानीयहरू बताउँछन् । गुम्बाका ज्येष्ठ नागरिक आवासीयरुपमा बस्दै आएका थिए । ‘चिसोले गुम्बाका कतिपय मान्छे तल झरेका थिए, गुम्बामा को को थिए, कसरी आगलागी भयो भन्नेबारे जानकारी लिन सकेको छैन,’ उनले भनेको समाचार कान्तिपुरमा छापिएको छ ।

