एम्बुलेन्सलाई तिर्ने पैसा नभएकै कारण ज्यान गुमाइन् जानकीले…


कैलाली – बाजुरा बडिमालिका नगरपालिका १ पिनालेखकी २६ वर्षीया जानकी विकको सुत्केरी हुन नसकी सोमबार राति मृत्यु भएको छ ।

जिल्ला अस्पताल बाजुराले सुविधा सम्पन्न अस्पतालमा रेफर गरे पनि उनको अस्पताल पुग्न नपाउँदै मृत्यु भएको हो । एम्बुलेन्सलाई तिर्ने पैसा नभएपछि बसको टिकट काटेर जानकीलाई महेन्द्रनगर ल्याउने तयारी गरिएको थियो । तर, बाटोमै श्रीमतीको मृत्यु भएको रमेश विकले बताए ।

बाजुराबाट महेन्द्रनगर पुग्न करिब १३ घण्टा लाग्छ । यति लामो दुरी बसमा यात्रा गर्दा ज्यानै जोखिममा पर्ने भन्दै बस चालकले महिलालाई अछामको बलयलपाटा अस्पताल लैजान सुझाव दिएका थिए । महिलालाई व्यथाले च्यापेपछि अछाम र डोटीको सिमाना चौखुट्टेबाट चालकको सुझाव अनुसार महिलालाई जिपमार्फत बयलपाटा अस्पताल लैजाँदै गर्दा महिलाको ज्यान गएको हो ।

बयलपाटा अस्पतालमा कार्यरत अहेव भवानी ढुङ्गानाले गर्भवती महिलाको बाटोमै मृत्यु भएको बताए ।

माघ ४ गते आफन्तले जानकीलाई बाजुरा अस्पतालमा परीक्षणका लागि ल्याएका थिए । अस्पताले सामान्य औषधि दिएर घर पठाएको थियो । जानकीलाई सुत्केरी व्यथाले च्यापेपछि ८ गते राति पनि आफन्तले अस्पताल पुराए ।

अस्पतालले जानकी मुटु रोगी भएकाले सुविधा सम्पन्न अस्पताल लग्न सुझाव दिएको थियो । सुविधा सम्पन्न अस्पताल पुग्न नपाउँदै जानकीले ज्यान गुमाइन् ।

प्रतिक्रिया