

कांग्रेसले संसद् सचिवालयबाट पायो प्रमुख प्रतिपक्षी दलको मान्यता

काठमाडौं – संघीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएको छ । सचिवालयले आज(सोमबार) कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिँदै प्रतिपक्षी दलको सेवा सुविधासम्बन्धी जानकारीसहित पत्र पठाएको हो ।
कांग्रेसको संदसीय दलको कार्यालयमा कार्यरत उपसचिव होमनाथ पहाडीको पत्रको जवाफ दिँदै संसद् सचिवालयले नाम नै तोकेर प्रमुख प्रतिपक्षी दलको नेताको सेवा सुविधासम्बन्धी जानकारी गराएको हो ।
संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन महाशाखाका प्रमुख रामहरि थापाले पत्र पठाउँदै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पाउने सेवा सुविधाका विषयमा जानकारी दिएका हुन् ।
उपसचिव थापाको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९.०८० च.नं. ४५ मिति २०७९/०९/२९ को पत्रबाट प्रतिनिधिसभामा विपक्षी दलको नेता माननीय श्री शेरबहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।’
सचिवालयले विपक्षी दलको नेताको हैसियतमा नाम नै तोकेर जानकारी गराएसँगै कांग्रेसको प्रमुख प्रतिपक्षी दलको हैसियत पाउँछ कि पाउँदैन भन्दै भएको बहसमा पूर्णविराम लागेको छ ।

