ट्रम्पले नियुक्त गरे दुई वकिल, हाेला त महाभियोग पारित ?


वासिङ्टन – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाइका लागि प्रतिरक्षा गर्न दुई जना वकिल नियुक्त गरेका छन्  । ट्रम्पले डेभिड सोएन र ब्रुस क्यास्टर जुनियरलाई आफ्ना वकिलमा नियुक्त गरेका हुन् । विगतमा ट्रम्पसँग रहेका कतिपय वकिलले बिदा लिइसकेकाले उनले नयाँ नियुक्त गरेका हुन्  ।

अमेरिकी सिनेटमा फेब्रुअरी ८ देखि ट्रम्पविरुद्धको महाभियोगमाथि सुनुवाइ हुँदै छ । ट्रम्पको गत जनवरी २० मा कार्यकाल समाप्त भए पनि अमेरिकी संसद् भवनमा ट्रम्पको उक्साहटमा आक्रमण भएको भन्दै डेमोक्रेट पार्टीले उनीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाएको छ ।

अमेरिकी तल्लो सदनले महाभियोग लगाउने प्रस्ताव स्वीकृत गरी सिनेटमा पठाइसकेको छ । अमेरिकी संविधान र कानुनबमोजिम सिनेटको दुई तिहाइले पारित गरेमा मात्र कुनै पनि राष्ट्रपतिविरुद्ध महाभियोग पारित हुने प्रावधान छ ।

सिनेटमा हाल रिपब्लिकन र डेमोक्रेटिक पार्टीबाट समान ५०–५० सदस्य रहेकाले ट्रम्पविरुद्धको महाभियोग पारित हुने सम्भावना भने कम रहेको छ । हालसम्म ५ जना रिपब्लिकन सिनेटर सदस्यले मात्र ट्रम्पविरुद्धको महाभियोग लगाउनुपर्ने मत सार्वजनिक गरेका छन् । महाभियोग पारित हुन अझै १७ रिपब्लिकन सिनेटरले समर्थन जनाउनुपर्नेछ, जुन निकै कठिन ठानिएको छ । एजेन्सी

प्रतिक्रिया