

जिल्ला अदालत तनहुँबाट पल शाहले पाए सफाइ

काठमाडौं – नाबालिग बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।
आज मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए ।
बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा थिए । बाल यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत नवलपुरमा नायक शाहविरुद्ध पनि मुद्दा दर्ता भएको थियो ।
उक्त मुद्दामा जिल्ला अदालत नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे दुई वर्ष कैद सजाय तोकेको थियो । साथै पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।
सुटिङका क्रममा पटकपटक करणी गरेको भन्दै नाबालिकाले पलविरुद्ध २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन्।
आफूविरुद्ध उजुरी परेपछि केही दिन फरार अभिनेता शाहले फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। सुरुमा बलात्कृत भएको भनी उजुरी दिएकी नाबालिकाले पछि आफूलाई पलले बलात्कार नै नगरेको भन्दै जिल्ला अदालतमा बकपत्रको बयान फेरेकी थिइन्।

