गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन, तोकिएका समयमा हुन्छ : उपप्रधानमन्त्री पोखरेल


नुवाकोट – उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन् । नुवाकोट विदुरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले तोकिएका समयमा निर्वाचन हुन्छ भनेर दावी गरे ।

‘तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्नु हुँदैन । निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई धम्की दिइरहेका छन् । दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन् । गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन’, उपप्रधानमन्त्री पोखरेलले भने ।

उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई अस्थिरता र प्रतिक्रान्तितिर लैजाने षड्यन्त्र रोकेर मुलुकलाई स्थायित्व दिनका लागि निर्वाचन गर्न लागिएको स्पष्ट पार्दै नेकपा सचिवालय सदस्य पोखरेलले अदालतले गरेको निर्णयलाई स्वीकारिने बताए ।

पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टी नेतृत्वलाई प्रतिक्रान्तिबाट बचाउनका लागि नै नयाँ जनादेश प्राप्त गर्न निर्वाचनमा जानुपरेको बताए ।

यसैबीच आज नै जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले तोकिएका समयमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक काम गर्न निर्देशन दिए । उनले नागरिकलाई दिइने दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि कार्यालय कार्यालयबीच समन्वयको खाँचोमा जोड दिए ।

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जिल्लाको वस्तुस्थिति र समस्याका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया