

बिहानैदेखि उद्धारकार्य सुरु, आजदेखि शव परिवारलाई हस्तान्तरण गरिने

पोखरा – आइतबार बिहान भएको यती एयरलाइन्सको जहाजमा रहेका ३ जनाको अवस्था अझै अज्ञातै छ ।
आइतबार रातीसम्म खोजतलास एवं उद्धारमा जुटेको सुरक्षा निकायका उद्धारटोली आज (सोमबार) बिहानै दुर्घंटनास्थल पुगिसकेको छ ।
घटनास्थलमा आज नभेटिएका व्यक्तिको शव खोज्नुका साथै घटनास्थलमा भेटिएका यात्रुहरुका सामानको मुचुल्का उठाउने प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा कतिपय यात्रुका सामानाहरु जस्तै मोबाइल, ब्यागलगायतका सामाग्री सकुशल भेटिएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र ४ चालकदलसहित उडेको यती एयरलाइन्सको विमान पोखरा महानगरपालिकाको वडा नं. ७ स्थित घारेपाटन नजिकको सेती खोँचमा खसेर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परि अहिलेसम्म ६९ जनाको शव भेटिएको र १२ जनाको सनाखत समेत भइसकेको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज सनाखत भएका शवहरु परिवारलाई हस्तान्तरण गर्नुका साथै अन्य शव परिक्षणका लागि राजधानी ल्याइने जनाइएको छ ।

