
अब कहिल्यै बज्ने छैन आमाको मोबाइलमा निराको फोन…
काठमाडौं – पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि निधन भएको छ ।
उनी माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन प्रस्थान गरी उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हिरा छन्त्याल शेरचनले पुष्टि गरिन् ।
‘बिहान १० बजे काठमाडौं एयरपोर्टबाट मम्मीलाई फोन गरेर पोखरा जाँदैछु । उहाँ पुगेर आधा घण्टामा फोन गर्छु है भनेकी रहिछन् । तर उसको फोन आएन र अब कहिल्यै आउँदैन,’ बागलुङस्थित घरमा रहेकी हिराले भनिन् । विमान दुर्घटनामा परेको खबर आएपछि नीराका बुवालगायत आफन्त बागलुङबाट पोखरातर्फ आइरहेको उनले जानकारी दिइन् ।
पोखरा उड्नुअघि नीराले फेसबुकमा माघे संक्रान्तिको तस्वीर र शुभकामना पोस्ट गरेकी थिइन् । त्यसअघिको अर्को स्टाटसमा उनले ‘भोलि पोखरामा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस पनि लेखेकी थिइन् ।
नेपाल छन्त्याल युवा संघले आयोजना गरेको कार्यक्रममा नीराले सांगीतिक प्रस्तुति दिने तयारी थियो ।



कागजपत्र |
