ल्होसारमा तीन दिन सार्वजनिक बिदा दिँदै खानीखोला


काभ्रे — खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक पर्व ‘सोनाम ल्होछार’मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ औँं तावर ह्योई ल्हो (बिरालो वर्ग) को सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) ले ल्होछार पर्व मनाउनको लागि आगामी माघ ७, ८ र ९ गते गाउँपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको बताए।

गाउँपालिकाले विविध कार्यक्रम गरी तीन दिन ल्होछार मनाउने जनाएको छ। अध्यक्ष थिङका अनुसार पहिलो दिन (माघ ७ गते) लामा खेन्पोबाट पुजा, दोस्रो दिन तामाङ भाषाको व्हाईखा (कविता) र ताम्बा÷डम्फू गीत प्रतियोगितासँगै तेस्रो दिन बृहत् साँस्कृतिक कार्यक्रम सहित ल्होछार मनाउन लागिएको हो।

प्रतिक्रिया