आज विश्वासको मत लिँदै मुख्यमन्त्रीद्वय कार्की र अधिकारी

प्रदेश १ र गण्डकी प्रदेशका मुख्यममन्त्री हिक्मत कार्की र खगराज अधिकारीले आज विश्वासको मत लिने


काठमाडौं — प्रदेश १ र गण्डकी प्रदेशका मुख्यममन्त्रीले आज विश्वासको मत लिँदैछन्।

प्रदेश १ का  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो १ बजे विश्वासको मत लिने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिए।

६० जना सांसदको समर्थनसहित आइतबार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना सांसदको समर्थन छ। सरकारलाई  समर्थन जनाए पनि  भागवण्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा गएको छैन।

सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भागवण्डा हुँदा प्रदेश १ को नेतृत्व पाँच वर्षका लागि एमालेले पाउने सहमति भएको थियो। तर माओवादी केन्द्र प्रदेश संसदीय दलले प्रदेशको नेतृत्व आधा–आधा कार्यकाल हुनुपर्ने दाबी गर्दै सरकारमा सहभागी नभएको हो। माओवादी सरकारमा सहभागी नभए पनि मुख्यमन्त्री कार्कीले राप्रपा र जसपालाई सरकारमा सहभागी गराएर बहुमत सुरक्षित गरेका छन्।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९,  माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका १ जना सांसद छन्।

त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पनि आजै विश्वासको मत लिँदैछन्। आज तीन बजे प्रदेश सभाको बैैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गण्डकी सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन्।

सांसदसहित ३३ सांसदको समर्थनमा अधिकारी पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए। ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ।

अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसदको समर्थन छ। अधिकारीलाई विश्वासको मत पाउन पनि सहज छ। अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन्।

प्रतिक्रिया