नेपाल टी–२०ः लुम्बिनी अल स्टार्स च्याम्पियन, विराटनगर २४ रनले पराजित


काठमाडौं — लुम्बिनी अल स्टार्सले पहिलो संस्करणको नेपाल टी–२० लिगको उपाधि जित हात पारेको छ । बुधबार किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको फाइनल खेलमा विराटनगर सुपर किङ्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो ।

लुम्बिनीले दिएको १३४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रनमै रोकिएको हो । विराटनगरका लागि अर्जुन साउदले ३४ रन तथा प्रिथु बास्कोटाले ३१ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

त्यसअघि टस जितेर ब्याटिङमा गरेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर १३३ रन जोडेको थियो । लुम्बिनीका ओपनर लाहिरू मिलन्थाले सर्वाधिक ४१ रन बनाए भने अर्का ओपनर हर्मित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन तथा ईशान पाण्डेले १८ रन जोडे ।

विराटनगरका राज नानन र नन्दन यादवले दुई–दुई विकेट लिए । यस्तै, हुसैन तलात, किओन जोसेफ, सुर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।

प्रतियोगिताको विजेता टोली लुम्बिनीले ५५ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता विराटनगरले ३० लाख रुपैयाँमै चित्त बुझाएको छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

प्रतियोगितामा सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनीले प्लेअफको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यता प्लेअफको इलिमिनेटरमा काठमाडौं किङ्सलाई पराजित गरेको विराटनगरले पनि दोस्रो क्वालिफायरमा जनकपुरलाई नै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रतिक्रिया