सिङ्गै संसद् विश्वासको मतमा उभिन्छ : प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिङ्गै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ ।’

प्रतिनिधिसभाको पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सबै पार्टी र स्वतन्त्र सांसदले आआफ्नो धारणा राखेको उल्लेख गर्दै उनले नयाँ सुरुआत गर्नुपर्छ भन्ने प्रतिबद्धता सबै सांसदबाट व्यक्त भएको बताए । ‘देशका अगाडि विद्यमान समस्या समाधान गर्न सबै मिलेर जानुपर्छ भन्ने सबैको भावना व्यक्त भएको छ’, उनले भने ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराएका छन् ।

उनी नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए ।

ज्येष्ठ सदस्य जबराले मङ्गलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको जानकारी गराए ।

प्रतिक्रिया