

नियम विपरीत सञ्चालित क्रसर उद्योग बन्द गर्न प्रशासनको निर्देशन

गोरखा – नियम विपरीत सञ्चालनमा रहेका जिल्लाका क्रसर उद्योगहरू बन्द गर्न निर्देशन गरिएको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासनले यस्तो निर्देशन दिएको हो ।
बिना दर्ता र नवीकरण एवं अनुमति नलिई सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन र प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरू शुक्रवारकै दिनबाट बन्द गर्न प्रशासनले निर्देशन गरेको छ ।
‘विभिन्न आयोजना विकास तथा निर्माणको क्रममा सोही आयोजनाका लागी आवश्यक परिणाममा ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग निर्माण व्यवसायीले आयोजना समाप्त भएपश्चात् पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए सो समेत बन्द गर्न यो सूचना प्रकाशित गरिएको हो’, प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।
नियम विपरीत ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन तथा दोहन गरेको पाइएमा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।

