

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं — नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसदीय दलको बैठक अघि शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले सो बारेमा पदाधिकारीबीच छलफल गरेका थिए ।
सभापति देउवा निवासमा भएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी थिए ।
बैठकमा शनिबार बस्ने संसदीय दलको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको महामन्त्री शर्माले जानकारी दिएका थिए ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ देखि प्रारम्भ हुँदैछ । निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ ।

