

भारत र चीन: हिन्द महासागरका लागि हानथाप, यस्तो छ रणनीति

काठमाडाैं – भारत र चीनबीच स्थलसीमा विवाद चलिरहेको बेलामा चीनले हिन्द महासागरमा पनि प्रभुत्व कायम गर्ने लक्षण देखाएपछि भारत सतर्क बनेको छ । चीनलाई घेराउ गर्नका लागि भारतले कूटनीतिक र रणनीतिक किल्ला बनाएको बताइएको छ ।
पश्चिमी हिन्द महासागरमा चीनको उपस्थिति तीव्र गतिमा बढिरहेको छ । यस्तो अवस्था रहँदा भारतले रणनीतिक रूपमा मेडागास्कर र कोमोरोस टापु समूहसँग रक्षा र सुरक्षा दुवै बढाउनका लागि प्रयास बढाएको छ ।
दुवै देशले रक्षामन्त्रीहरूको हिन्द महासागर क्षेत्रको बैठकमा सहभागिता पुष्टि गरेका छन् । भारतले यसै साता यो बैठक आयोजना गर्न लागेको छ । मेडागास्कर र कोमोरोसको भूराजनीतिक महत्त्वलाई स्वीकार गर्दै चीनले कनेक्टिभिटी र सेक्युरिटी सम्बन्धी गतिविधिलाई लगातार बढाउँदै लगेको छ ।
त्यसैले गर्दा भारतको विदेश मन्त्रालयले सन् २०१९ मा हिन्द महासागरका मुलुकहरू श्रीलंका, माल्दिभ्स, मरिसस र सेसेल्सलाई एक डिभिजनमा ल्याउने निर्णय लिएको थियो । विदेश मन्त्रालयले यसका लागि इन्डियन ओसन रीजन डिभिजन गठन गर्ने निर्णय लिएको थियो ।
चीनले पनि सुरक्षामा नजर राख्नका लागि मेडागास्करमा रक्षा अट्याशे नियुक्त गर्न विचार गरिरहेको छ । भारत र चीन दुवैका लागि भूसामरिक टापुहरूसँगको द्विपक्षीय सम्बन्धलाई गाढा बनाउनु अत्यन्तै महत्त्वपूर्ण छ किनकि पश्चिमी हिन्द महासागरमा जलसेनाको उपस्थिति बढाउने दुवैको अभीष्ट हो । एजेन्सी

