

नुवाकोटमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नुवाकोट – मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटमा एक जनाको मृत्यु भएको छ । नुवाकोटको विदुर नगरपालिका-५ पिपलटारमा बा ५२ प ५८६८ नम्बरको मोटरसाइकल गुडिरहेको टिपरको पछाडिपट्टि ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक विदुर ५ का ३१ वर्षीय दिपक कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार दुवै सवारीसाधन देवीघाटबाट गंगटेतर्फ आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली पठाइएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

